
पोखरा, माघ– कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सरकार र राजनीतिक दलका नेताप्रति जनतामा असन्तुष्टि चुलिएको बताएका छन् ।
पार्टी सम्बद्ध नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले शुक्रबार पोखरामा गरेको कार्यक्रममा खड्काले दलका नेता र कार्यकर्ता सुध्रिन जरुरी रहेको बताए ।
जनताको सेवा गरेर नेता कार्यकर्ता सुध्रिनुपर्ने उनको भनाइ थियो ।
खड्काले नेताहरुप्रतिको नकारात्मक धारणालाई सकारात्मकतामा बदल्न नसकिए असन्तोषको मात्रा थप बढेर जाने उल्लख गरे ।
‘सरकार, राजनीतिक दलका नेता र कार्यकर्ताप्रति आमजनतामा निराशा छ’, खडकाले भने, ‘नेता कार्यकर्ता रुपान्तरित हुनुपर्छ । जनताको सेवा गरेर नकारात्मकतालाई सकारात्मकतामा बदल्नुपर्छ ।’
फरक प्रसंगमा खड्काले आवश्यकताका आधारमा राष्ट्रिय सहमति गरेर मात्र संविधान संशोधन गर्न सकिने विचार व्यक्त गरे ।