काठमाण्डू, २ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले गरिरहेको मोर्चाबन्दी प्रयासलाई विशाल नदीको किनारमा बसेर ढुंगा हान्दै नदी थुन्ने प्रयास गर्नुजस्तै भएको बताएका छन ।
सरकारले ल्याएको अध्यादेशहरू बारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले अधिकारको प्रयोग शान्तिपूर्ण ढंगले गर्न आग्रह गरेका छन । प्रधानमन्त्री ओलीले भने, ‘मैले मोर्चा बन्दैछ भन्ने सुनिरहेको छु ।
त्यो उहाँहरूको अधिकारको कुरा हो । म त्यसलाई सम्मान गर्छु,’ उनले भने,’ तर सभ्य तरिका भाषामा गर्नुस् भन्ने मात्र सुझाव छ । शान्तिपूर्ण र सभ्यतापूर्ण हुनुपर्छ । अधिकार त प्रयोग गर्न पाइन्छ ।’
उनले यो अध्यादेश कसैको विरुद्ध नभएको बताएका छन । संसद रोकिरोकी पार्टी फुटाउने भन्दै गरिएको चर्चालाई उनले अफवाहको संज्ञा दिए ।
उनले प्रश्न गरे, ‘कसले बोलायो यो संसद र रोकेको त रु नबोलाइकन सुरु नै हुँदैन त कसरी रोक्नु ? बोलाएपछि स्थगित गरियो भने पो रोकिरोकि भन्न पाइयो ।’ उनले विधेयकहरूको तयारी गर्न समय लिइरहेकोले संसद् बोलाउन ढिला भएको प्रष्टीकरण दिएका छन ।