काठमाण्डू, २ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी अध्यादेश आज जारी हुने बताएका छन ।
आज (बुधवार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उद्योगी व्यवसायीहरूले अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले भूमि सम्बन्धी अध्यादेश जारी भएसँगै भूमि सम्बन्धित समस्याहरू समाधान गर्ने पनि बताएका छन । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको मतलब नहुनेले राम्रा काम हुँदा पनि विरोध मात्रै गरिरहेको बताए ।
विकास, सुशासनका कामहरू नगर्ने र आफ्नो पिठो बिकाउने काममा मात्रै लाग्ने गरेको उनको टिप्पणी थियो । प्रधानमन्त्री ओलीले भने, ‘सबैभन्दा बढी जनता र देशका लागि, विकासका लागि केही गरौँ भन्ने इच्छाशक्ति सरकारमा कम हुनाले नै यस्तो भएको हो । त्यस इच्छा शक्तिले व्यवस्थापन पक्षलाई सही ढङ्गले चुस्त, दुरुस्त बनाउने र देशको अर्थतन्त्रलाई सम्पूर्ण क्षेत्रमा गतिशील कसरी बनाउने रु त्यस दिशामा सरकारले सोच्नुपर्छ । त्यस कुरालाई नै हृदयङ्गम गरेर हामीले अहिले यी केही अध्यादेशहरू आएका छन् ।’
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्नेहरूले केही विकास गरौँ भन्ने इच्छाशक्ति नदेखाउँदा अहिलेको अवस्था आएको बताए । उनले देशको अर्थतन्त्रलाई सम्पूर्ण क्षेत्रमा गतिशील कसरी बनाउने ?
भन्ने दिशामा सरकारले सोच्न जरुरी रहेको पनि बताएका छन । उनले अध्यादेशहरू ल्याएसँगै कांग्रेस र एमालेको सरकार चाँडै ढल्दैछ भन्ने जस्ता भ्रम फैल्याइएकोमा असन्तुष्टि व्यक्त गरे । उनले सरकारले सकारात्मक दूरगामी महत्वका नीति निर्माण गरिरहेको बताएका छन ।