चिनियाँ नागरिकको अपहरणमा संलग्न चार भारतीयलाई ल्याईयो काठमाण्डू

काठमाण्डु टुडे २०८१ माघ २ गते १३:१८ मा प्रकाशित

काठमाण्डू, २ माघ– प्रहरीले ठमेलबाट एक चिनियाँ नागरिकको अपहरणमा संलग्न रहेर पक्राउ परेका चार जना भारतीय नागरिकलाई काठमाण्डू ल्याएको छ ।

चिनियाँ नागरिकलाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा मकवानपुरको भीमफेदीबाट नियन्त्रणमा लिइएका उनीहरुलाई राति नै काठमाण्डू ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन । पक्राउ पर्नेमा भारत महाराष्ट्र प्रदेशका ३३ वर्षीय आशुतोफ दत्रेय, ३० वर्षीय अमोल खरमते, ४० वर्षीय असरफ युनुस शेख र ३० वर्षीय अम्बास श्रीसत छन् ।

उद्धार गरिएका चिनियाँ नागरिकलाई भने जिल्ला प्रहरी परिसर, भद्रकाली बुझाइसकिएको पनि उनले जानकारी दिएका छन । मंगलबार ठमेलबाट एक जना चिनियाँ नागरिकलाई अपहरण गरिएको भन्दै खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो ।

हराएको भनेको स्थानको सीसी टीभी हेर्दा भारतीय नागरिकहरुले उनलाई गाडीमा हालेर लैजाँदै गरेको देखिएपछि नाकाहरुमा जाँच थालिएको थियो । ‘इण्डियन नम्बर प्लेटकै गाडीमा हालेर लैजाँदै गरेको देखिएपछि जानसक्ने सम्भावित स्थानहरुमा चेक पोइन्ट राखेका थियौं’, भट्टराई भन्छन्, ‘त्यसक्रममा भिमफेदीमा शंकास्पद गाडीलाई नियन्त्रणमा लिएका थियौं ।’

यद्यपि, प्रहरीको चेकपोइन्ट देखेपछि केही भारतीय र चिनियाँ नागरिक भागेका थिए । पछि भारतीय नागरिकहरु भिमफेदीबाटै पक्राउ परे भने चिनियाँ नागरिकलाई प्रहरीले फर्पिङमा फेला पारेको थियो । प्रारम्भिक जाँचका क्रममा लेनदेनको विवादमा अपहरणमा गरेर भारततर्फ लैजान खोजिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us