विपक्षी दलको बैठक बिहीबार फेरि बस्ने

काठमाण्डु टुडे २०८१ माघ २ गते १२:३३ मा प्रकाशित

काठमाण्डू, २ माघ– प्रतिपक्षी दलहरुको बैठक बिहीबार पनि बस्ने भएको छ । बिहीबार बैठक बसेपछि संयुक्त वक्तव्य सार्वजनिक गर्ने आजको बैठकमा निर्णय भएको एक नेताले जानकारी दिएका छन ।

विपक्षी दलको संयुक्त वक्तव्य बनाउन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषालले जिम्मेवारी प्रप्त गरेका छन । नेकपा माओवादी केन्द्रको पहलमा बुधबार बिहान बसेको विपक्ष दलको बैठकले संसद बैठक बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

सरकारले संसद बैठक बोलाउन आनाकानी गरेर विशेष अधिवेशनको माग गर्ने बारेमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले जानकारी दिएका छन । उनले भने, ‘छिटोभन्दा छिटो सदन चलाउ भन्ने । सरकारले संसद बोलाएन भने विशेष अधिवेशनका बोलाउन विपक्षी दलले लाग्ने कुरा भयो ।’

सरकार संसद छलेर अध्यादेशबाट देश चलाउने तरिकाले अघि बढ्यो । सरकारको कदमको विरुद्धमा प्रतिपक्ष सबै दल एकवद्ध हुनुर्पछ भन्ने कुरा भयो । मुल्यवृद्धि नियन्त्रण हुन सकेन,’ अर्यालले भने,‘छिमेकसँगको सम्बन्ध बिगारेको बारे कुरा भयो । संसदीय समितिमा दुई तिहाइको सरकारले कोरम पुर्याउँदैन । अर्थतन्त्र झन् झन कमजोर भयो ।’

स्वर्णलक्ष्मी सहकारीका सञ्चालकहरु छुट्टा समेत रास्वपा सभापति रवि लामिछाने माथि प्रतिशोध साधिएको धारणा सबै नेताले राखेको अर्यालले दाबी गरे ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी थिए । एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, रास्वपाका डीपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका प्रभु साह तथा नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us