केपी ओलीलाई खड्गप्रसाद भनेपछि एमाले नेता कारबाहीमा

काठमाण्डु टुडे २०८१ माघ २ गते ८:४८ मा प्रकाशित

विराटनगर, २ माघ– एमालेले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीबारे प्रश्न गर्ने नेता कार्यकर्तामाथि छानीछानी कारबाही गर्ने क्रमलाई तीव्रता दिएको छ ।

एमाले उदयपुरका तत्कालीन उपाध्यक्ष एवं कोशी प्रदेशसभाका पूर्वसदस्य विमल कार्कीमाथि कारबाही गरिएको हो ।

व्यवसायी मिनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा अध्यक्ष ओलीमाथि प्रश्न गरेका कारण कार्कीलाई ६ महिनाका लागि पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरिएको हो ।

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रदेश समिति बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरिएको जानकारी दिए ।

खतिवडाले यसअघि १६ मंसिरमा कार्कीसँग तीन दिनको समयसीमा राखेर फेसबुकमार्फत लगातार पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएकाले तपाईंलाई किन कारबाही नगर्ने भन्दै प्रष्टीकरण सोधेका थिए । स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कार्कीलाई जिम्मेवारीमुक्त गरिएको खतिवडाले बताए ।

कार्कीेले मिनबहादुरसँग जग्गा दान लिएको विषयमा नेताहरु भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथि कारबाही गर्ने पार्टी निर्णयमा आपत्ति जाएका थिए ।

उनले नैतिकताका आधारमा ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए । ‘अध्यक्षज्यू, स्पष्टीकरण हामीलाई सोध्ने कि तपाईंले अब अदालतलाई दिने जवाफ चाहियो ? नैतिकता छ भने अध्यक्ष पदबाट राजीनामा दिनुहोस् ।

उनले ओलीको नागरिकताका विषयमा समेत प्रश्न गरेका छन् । ओली २०४८ र ०५१ को निर्वाचनमा खड्गप्रसाद ओलीका नामबाट निर्वाचित भएको र मनमोहन अधिकारी नेतृत्वको अल्मपत सरकारमा गृहमन्त्री हुँदा सोही नाम रहेको उनको तर्क छ । तर, अहिले कसरी उनको नाम केपी शर्मा ओली भयो भन्ने प्रश्न कार्कीेले गरेका छन् ।

ओलीले दुई नागरिकता लिएको हो वा ती नाम गरेका दुई व्यक्ति हुन् भन्ने जानकारी हुुनुपर्ने माग गरेका थिए । ‘२०४८ को आमचुनाव र ०५१ को मध्यावधि निर्वाचनमा तत्कालीन झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट निर्वाचित सांसद् तथा २०५१ को मनमोहन अधिकारी प्रधानमन्त्रीको सरकारमा भएका गृहमन्त्री र अहिलेका प्रधानमन्त्री एउटै हुन् भनेर नेपाली राजनीतिमा चासो राख्ने सबैले यकिनसाथ भन्छन्’, कार्कीले लेखेका छन्, ‘तर तत्कालीन झापाली सांसद तथा गृहमन्त्रीको नागरिकतामा र त्यो बेलाका सरकारी दस्ताबेजमा खड्गप्रसाद ओली भनेर लेखिएको छ । अनि अहिलेका प्रधानमन्त्रीको भनेर सामाजिक सञ्जालमा भाइरल बनेको नागरिकता सम्बन्धी भिडियोमा केपी शर्मा ओली भनेर लेखिएको छ । मैले बुझ्न चाहेको कुरा । एउटै मान्छेले दुइैटा नागरिकता प्रयोग गरेको हो कि नागरिकता जस्तै मान्छे पनि फरकफरक नै हुन्रु कसैले तथ्यसहित बुझाइदिनु हुन्थ्यो कि ।’

कार्यकर्ताले उठाएका प्रश्नको जवाफ दिन नसक्नु र कारबाही गर्नुको अर्थ पार्टीमा विवेकशील कार्यकर्ता नरहुन्, प्रश्न गर्नेहरू बाँकी नरहुन्, खाली रिमोटबाट चल्ने रोबोटहरू मात्रै रहुन् भन्ने चाहेको हुन सक्ने उनको तर्क छ । रोबोटहरूबाट राजनीतिक आन्दोलन अघि बढ्दैन भन्ने तथ्य बेलैमा बुझ्न नेताहरुलाई उनको सुझाव छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us