थुनछेक बहसमा सरकारी वकिलको तर्क: रविलाई थुनामा नराखे प्रमाण नष्ट हुन्छ

काठमाण्डु टुडे २०८१ पुष २९ गते १३:३६ मा प्रकाशित

काठमाण्डू, २९ पुस– काठमाण्डूको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको काठमाण्डू जिल्ला अदालतमा थुनछेक बहस वजारी छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी बहसका क्रममा उनीहरूले प्रतिवादीलाई थुनामै राख्नुपर्ने जिकिर गरेका छन् । इजलासमा सरकारी वकिलले भनेका छन, ‘सहकारी ठगी, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दा छन् ।

प्रतिवादीलाई अहिले थुनाबाहिर राख्दा प्रमाण नष्ट हुने देखिन्छ ।’ उनीहरूलाई कास्की जिल्ला अदालतको आदेशलाई आधार मानेर रविलाई थुनाबाट छाड्न नहुने पनि बहसका क्रममा बताएका छन् ।

‘पोखरामा भएको आदेशलाई यहाँ सन्दर्भ बनाउन हुँदैन,’ सरकारी वकिलले बहसका क्रममा भने, ‘त्यो छुट्टै मुद्दा हो । यो छुट्टै मुद्दा हो ।’

सहकारी पीडितहरू अझै पीडित भइरहेको अवस्थामा उनीहरूको न्यायका लागि पनि प्रतिवादीलाई थुनामै पठाउनुपर्ने तर्क सरकारी वकिलहरूले गरेका छन् । अहिले थुनछेक बहस चलिरहँदा आधा घण्टा खाजा ब्रेक भएको छ ।

अघिपछि एक घण्टासम्म खाजा ब्रेक हुने भएपनि आजका लागि आधा घण्टा मात्रै दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us