काठमाण्डू, २९ पुस– काठमाण्डूको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको काठमाण्डू जिल्ला अदालतमा थुनछेक बहस वजारी छ ।
थुनछेक बहसकै क्रममा जिल्ला अदालत काठमाण्डूको इजलासमा उपस्थित रवि लामिछानेलाई पत्नी निकिताले टीका लगाइदिएकी छन् । आजबाट माघ स्नान एवम् स्वस्थानी व्रत आरम्भको रातो टीका पत्नी निकिता पौडेलले रविलाई लगाइदिएकी हुन् ।
न्यायाधीश माधवप्रसाद अधिकारीले सरकारी वकिललाई दुई घण्टा समय उपलब्ध गराएका थिए । तर उनीहरुले दुई घण्टाभन्दा बढी समय माग गरेका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाण्डू जिल्ला अदालतमा उपस्थित भएका थिए ।
तर आइतबार थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा लगिएको थियो ।