चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

काठमाण्डु टुडे २०८१ पुष २९ गते ८:३६ मा प्रकाशित

काठमाण्डू, २९ पुस– चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ ।

६४ वर्षीय शेर्पाको आइतबार राति १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए ।

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे ।

शेर्पाका दुई छोरा र तीन छोरी छन् । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए । पर्यटन व्यवसायमा आबद्ध उनी चौंरीखर्कको पूर्व गाविस अध्यक्षसमेत हुन् ।

केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us