
काठमाण्डू, २९ पुस– काँग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षर गरेको नक्कली विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सरकारले हालै ल्याएको अध्यादेशको विरोध गरेको भन्दै काँग्रेसको लेटर प्याड र देउवाको हस्ताक्षरसहितको विज्ञप्ति भाइरल भएको हो ।
फेक विज्ञप्तिले सर्वसाधारण, पार्टी पंक्ति र सत्ता गठबन्धनमै भ्रम उत्पन्न गरेपछि काँग्रेसले विज्ञप्ति जारी गरी खण्डन गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै त्यसबारे ध्यानाकर्षण भएको बताए । विज्ञप्तिमा पौडेलले
नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारेमा अन्यौल सिर्जना गरी जनतालाई दिग्भ्रमित गर्ने कुत्सित मनसायले सभापति देउवाको नाममा नक्कली विज्ञप्ति सम्प्रेषण भएको उल्लेख छ ।
हतास मनस्थितिबाट गरिएको उक्त घृणित कार्यको निन्दा निन्दा गर्दै त्यस्ता गैरकानूनी कार्यमा संलग्न जो कसैलाई कानूनी दायरामा ल्याउन उनले सम्बन्धित निकायसँग माग गरेका छन् । यस्ता भ्रमित गतिविधिको भ्रममा नपर्न पनि काँग्रेसले भनेको छ ।
तत्कालीन नेकपाका अध्यक्ष केपी ओलीले अघिल्लो कार्यकालमा प्रधानमन्त्री भएका बेला सरकारले ०७७ सालमा संवैधानिक परिषदसहित विभिन्न ७ वटा अध्यादेश जारी गरेको थियो ।
सरकारले संसद छलेर अध्यादेशबाट मुलुक चलाउन खोजेको भन्दै देउवाले विज्ञप्बित जारी गरेका थिए । सोही विज्ञप्तिमा मिति परिवर्तन गरी सामाजिक सञ्जालमा पोष्ट भएपछि भाइरल भएको हो ।