काठमाण्डू, २८ पुस– काठमाण्डूको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरण मुद्दामा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ ।
आज आइतबार काठमाण्डू जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान सकिएको हो ।
लामिछानेको बयान सकिएसँगै वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ र सुशील पन्तले उनको पक्षमा बहस सुरु गरेका छन् । लामिछानेको पक्षमा बहस सकिएपछि सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडान्द्रराज कटवालसहित १० जनाले बहस गर्ने तयारी रहेको छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार आफैँ अदालतमा हाजिर भएका हुन् ।