स्करपियो र कार ठोक्किँदा घाइतेमध्ये एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ पुष २७ गते १८:२९ मा प्रकाशित

काठमाण्डू, २७ पुस– मकवानपुरको मनहरीमा सवारी दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १४ जना मध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा कार चालक मकवानपुर हेटौडा–४ स्कुलरोड बस्ने वर्ष ६० को सुरेन्द्र लाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन । दिउँसो ३ बजेको समयमा चितवन स्थित भरतपुर अस्पतालमा उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले जानकारी दिएका छन ।

शनिबार दिउँसो १ बजेको समयमा मनहरी गाउँपालिका–६ डिपार्टस्थित पूर्व पश्चिम सडक खण्डमा स्कर्पियो र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा १४ जना घाइते भएका थिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्करपियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा कारमा सवार चितवन राप्ति नगरपालिका–२ गड्यौली बस्ने वर्ष ५५ को ओम कुमार श्रेष्ठ सोही स्थान बस्ने वर्ष ५० की सुनिता श्रेष्ठ, वर्ष २१ की सुमिना श्रेष्ठ रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us