काठमाण्डू, २६ पुस– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार फेरि भेटवार्ता भएको छ ।
दुई नेताबीच सिंहदरबारमा छलफल भएको हो । छलफलमा सत्तारुढ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी भएका छन् ।
उनीहरुबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा छलफल भएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।
मोर्चामा माओवादी, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सहभागी थिए ।
तत्कालीन प्रचण्डको सरकारले आफ्नो दल विभाजन गराएको आरोप लगाउँदै यादव मोर्चाबाट बाहिरिए ।
शुक्रबार भएको भेटमा उपेन्द्रलाई पुनः मोर्चामा सामेल गराउने जिम्मा माधव नेपालले लिएका थिए ।