काठमाण्डू, २६ पुस– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार ठगनअघि काँग्रेस र एमालेबीच भएको समझदारीअनुसार संविधान संशोधन हुने दाबी गरेका छन् ।
गत मंगलबारको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा शुक्रबार उनले ७ बुँदे सहमतिका आधारमा संविधान संशोधन गरिने बताए ।
‘संविधान संशोधन हुन्छ । गर्ने हो’, उनले भने, ‘किनभने हाम्रो ७ बुँदे राजनीतिक सहमतिमा पनि यही कुरा थियो ।’
०८७ सालमा मात्र संविधान संशोधन हुन्छ भन्ने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले गुरुङले बचाउ गरे । ‘प्रतिनिधिसभामा दुई दलको मात्रै बहुमत पुग्छ । तर राष्ट्रिय सभामा समस्या भइरहेको छ । त्यहाँबाट पनि पास हुनुपर्ने हुन्छ । राष्ट्रियसभाबाट रोकिने स्थिति बन्यो भने त्यो प्रक्रिया टुंगिदैन भन्ने भन्नुभएको होला भन्ने लाग्छ ।’
उनले प्रधानमन्त्रीको भनाइको अर्थ संविधान संशोधन नै नगर्ने भन्ने नबुझ्न सत्ता साझेदार काँग्रस नेताहरुलाई आग्रह गरे ।
ओलीले ०८७ मा मात्र संविधान संशोधन हुन सक्छ भन्ने अभिव्यक्ति दिएकामा काँग्रेस नेताहरुले असन्तुष्टि जनाएका छन् ।
उनीहरुले ओलीको अभिव्यक्तिसँगै वर्तमान सत्ता गठबन्धन र गठबन्धन सरकारको औचित्य सकिएको टिप्पणी गरेका छन् ।