रास्वपाद्वारा शुक्रबार पत्रकार सम्मेलन आयोजना

काठमाण्डु टुडे २०८१ पुष २५ गते २१:०५ मा प्रकाशित

काठमाण्डू, २५ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा ८४ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछाने धरौटीमा रिहा भएलगत्तै रास्वपाले पत्रकार सम्मेलन गर्न लागेको हो ।

रास्वपा सहायक प्रवक्ता मनिष झाले शुक्रबार बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिए । पत्रकार सम्मेलनमा सभापति लामिछाने उपस्थित हुने नेताहरुले बताएका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश निजित राईको एकल इजलासले पोखरास्थित सूर्यदर्शन सहकारी ठगी कसुरमा लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

लामिछाने बिहीबार साँझ अबेर बैंक जमानतमार्फत धरौटी बुझाएर रिहा भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us