नेताहरुलाई पूर्वराजा ज्ञानेन्द्रको ब्यंग्यः सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै हिंड्ने अवस्था देखियो

काठमाण्डु टुडे २०८१ पुष २५ गते १९:५३ मा प्रकाशित

काठमाण्डु, २५ पुस– पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा पराधीनता र परनिर्भरताले आत्मग्लानी सिर्जना गरेको टिप्पणी गरेका छन् ।

३०३औं पृथ्वी जयन्तीका अवसरमा बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले वर्तमान राजनीतिक व्यवस्था र दलहरुप्रति असन्तुष्टि जनाएका छन् ।

मुलुक पराधीनता, परनिर्भरता र आत्मग्लानीको दिशातर्फ जानु बिडम्बना भएको उनको भनाइ छ । यस्तै उनले स्रोत साधान, श्रम तथा सिपको देश विकासमा उपयोग हुन नसकेको बताए । पूर्वराजाले नेपालमा ‘सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै हिंड्ने अवस्था देखिएको भन्दै नेताहरुलाई ब्यंग्य गरेका छन् ।

पूर्वराजा शाहले नेपाललाई विदेशीको रणमैदान नभई शान्तिथलो बनाउनुपर्ने उल्लेख गरेका छन् ।
‘साझा घर नेपाल, साझा थर नेपाली’ भन्ने विचारका आधारमा अघि बढे मात्र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आकांक्षा पूरा हुने धारणा आफ्नो रहेको शाहको भनाइ थियो ।

विश्व साम्राज्य कसैको अधिनमा रहेको र संसारमा अधिकांश देशले औपनिवेशिक नियति भोग्दै गरेका तथा थुप्रै साना देशहरूले अस्तित्व र पहिचान गुमाउँदै गर्दा साम्राज्यका आँखै अघिल्तिर पृथ्वीनारायण शाहले एउटा देश खडा गर्नु सानो चुनौती नभएको तर्क ज्ञानेन्द्रले गरेका छन् ।

नेपाल मौलिक अर्थव्यवस्था, सामाजिक व्यवहार, राजनीतिक सुरक्षा, न्याय, कूटनीति भएको देश भए बाहिरी मुलुकबाट आएको वैचारिक विवाद आवश्यक नरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us