प्रधानमन्त्रीबाट सातबुँदे सहमतिको अपमान भयो: कांग्रेस नेता केसी

काठमाण्डु टुडे २०८१ पुष २५ गते १४:५२ मा प्रकाशित

काठमाण्डू, २५ पुस– सत्ता घटक दल नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सातबुँदे सहमतिको अपमान गरेको दाबी गरेका छन ।

आज (बिहीबार) काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कांग्रेस नेता केसीले यस्तो बताएका हुन । उक्त कार्यक्रममा कांग्रेस नेता केसीले भने, ‘अहिले प्रधानमन्त्रीले संविधान संशोधन ०८७ मा गर्ने भनेर भन्नुभएको छ। म अप्ठ्यारो नमानी यो सातबुँदे सहमतिको अपमान हो भन्छु ।’

यसअघि गत पुस २३ गते प्रधानमन्त्री ओलीले संविधान संशोधन ०८७ सालमा मात्रै हुने बताएका थिए। जबकि, अहिले सत्तामा रहेका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते सत्ता गठबन्धन बनाउने सहमति हुँदा संविधान संशोधन मुख्य विषय थियो।  तर, अहिले आएर प्रधानमन्त्री ओलीले संविधान संशोधनको भाका ५ वर्ष धकेल्दा कांग्रेस झस्किएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us