कांग्रेस सभापति देउवामाथि माधव नेपालको आरोपः कमिसन खान डडेलधुरामा विमानस्थल बनाउन खोजे

काठमाण्डु टुडे २०८१ पुष २५ गते १३:२० मा प्रकाशित

काठमाण्डू, २५ पुस– पूर्व पधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन ।

आज बिहिबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले कांग्रेस सभापति देउवामाथि यस्तो आरोप लगाएका हुन् । उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न सकेको जानकारी हुँदाहुँदै पनि विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्शानी मात्रै हुने बताएका छन ।

उनले छिमेकी जिल्लाहरु बैतडी र डोटीका विमानस्थल चल्न नसकिरहेको अवस्थामा डडेलधुरामा पनि विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु रहेको पनि बताए । उनले उदयपुर र डडेलधुरामा विमानस्थलको आवश्यकता नरहेको उल्लेख गरे ।

मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरु कुनै उद्देश्य नरहेको उनले बताए। विमानस्थलहरु चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरुले लिनुपर्ने पनि नेपालले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us