काँग्रेस–एमालेको दुई दलीय तानाशाहीका पक्षमा जनता छैनन्ः सिके राउत

काठमाण्डु टुडे २०८१ पुष २५ गते १०:२५ मा प्रकाशित

काठमाण्डु, २५ पुस– सत्ता गठबन्धमा सहभागी जनमत पार्टीका अध्यक्ष सिके राउतले काँगेस र एमालेको दुई दलीय तानाशाहीको पक्षमा जनता नरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत राउतले नेपाललाई दुई दलीय तानाशाही नचाहिएको बताए । काँग्रेस र एमालेबीच संविधान संशोधन गर्दा समानुपातिक प्रणालीतर्फको थ्रेस होल्ड प्रतिशत बढाउने सहमति भएको विषय बाहिर आएपछि राउतको उक्त प्रतिक्रिया आएको हो ।

काँग्रेस र एमालेबीच संघीय संसदमा ५ प्रतिशत र प्रदेशसभामा ३ प्रतिशतको थ्रेस होल्ड राख्ने व्यवस्थामा सैद्धान्तिक सहमति भएको छ । विद्यमान निर्वाचन कानूनमा प्रदेशमा सदरमतको डेढ प्रतिशत र संघीय संसदमा ३ प्रतिशत थ्रेस होल्डको व्यवस्था छ ।

त्यति मत नल्याउने दलले समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्न पाउँदैन । निर्वाचन आयोगले तयार पारेको ऐनमा गृह मन्त्रालयले थे्रस होल्डको प्रतिशत दोब्बर गर्ने प्रावधान थपेर कानून मन्त्रालय पठाएको छ ।

धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतायुक्त देशमा सानो समूहको आवाज उठ्न नदिने गरी निर्वाचन कानुन संशोधन गर्दै थ्रेस होल्ड बढाउने तयारी थालिएको भन्दै आपत्ति जनाएका छन् ।

त्यसो गरिए आफूहरु आन्दोलनमा उत्रने चेतावनी राउतले दिए ।

‘नेपालजस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनुपर्दछ ताकि उनीहरूले कम्तिमा आफ्ना समस्या सदनमा राख्न पाऊन्,’ उनले लेखेका छन्, ‘कुनै ऐनकानुन बन्दा आफूलाई प्रभावित कसरी गर्ने भन्ने कुरा सदनलाई बताउन सकोस् । त्यसका विपरीत ६–७ लाख गर्दै दसौं लाख (३०–४० लाख) जनताको मतलाई खारेज गर्ने र त्यसको हिस्सा ठूला पार्टीमा चोर बाटोले जोड्ने निर्वाचन थ्रेस होल्डको प्रावधान आमजनतालाई स्वीकार्य हुन सक्दैन । हामी संघर्षका लागि तयार छौं । दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us