विश्व प्रकाशलाई विष्णु रिजालको जवाफः किन झ्यारझ्यार गर्नुहुन्छ ?

काठमाण्डु टुडे २०८१ पुष २५ गते १०:१२ मा प्रकाशित

काठमाण्डु, २५ पुस–सत्ता गठबन्धनका प्रमुख दुई सहयात्री काँग्रेस र एमालेका नेताहरु सार्वजनिक रुपमै एकअर्काको आलोचनामा उत्रिन थालेका छन् ।

संविधान संशोधनको विषयलाई लिएर उनीहरुले परस्परविरोधी धारणा सार्वजनिक गर्न थालेका छन् ।
केही दिनअघि सम्पन्न एमाले केन्द्रीय समिति बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आगामी ०८७ सालमा मात्र संविधान

संशोधन हुन सक्ने बताएका थिए । एमालेले संविधान संशोधनको भाखा सारेपछि काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान ओली नेतृत्वको सरकार गठनअघि गत १७ असारमा भएको दुई दलबीचको सात बुँदे सहमति स्मरण गराएका छन् ।

गृहजिल्ला झापामा बुधबार आयोजित एक कार्यक्रममा शर्माले एमाले निर्णय दुई दलीय सहमतिको भावनाविपरीत भएको प्रतिक्रिया दिए । उनले दुई दलबीच यही वर्ष संविधान संशोधन गर्ने सहमति भएको बताए । ‘सात बुँदे समझादरीमा संविधान संशोधनको ढोका खोल्ने विषय लेखिएको छ ।

संविधान संशोधन गरिरहँदा के हो नागरिकको अपेक्षा, के हो पार्टीका साथीहरूको अपेक्षा, गाउँगाउँको अपेक्षा के हो भन्ने विषयलाई अध्ययन गरेर ल्याउनुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुभएको मैले सुनेँ यदि उहाँले एमालेको बैठक हुँदै गर्दा भन्नुभएको संविधान संशोधन २०८७ मा हुन्छ भनेर भन्ने हो भने त्यसमा म विनम्रतापूर्वक उहाँकै जिल्लाबाट गम्भीरतापूर्वक विमति राख्न चाहन्छु ।’ शर्माले ओलीले दुई दलबीचको सहमतिविपरीत ब्याक गेयरमा हिंड्न खोजेको आरोप लगाए ।

शर्माको उक्त अभिव्यक्तिको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले प्रतिवाद गरेका छन् । रिजालले तत्काल संख्या नपुग्ने भएकाले ०८७ मा संविधान संशोधन हुन्छ भन्नु सही भएको जिकिर गरेका छन् ।

उनले मिनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन जग्गा लिँदा, पार्टीमा आन्तरिक अनुशासन कायम गर्न नेताहरुमाथि कारबाही गर्दा र ओलीले ०८७ मा संविधान संशोधन गर्ने बताउँदा विरोध गर्नुलाई झ्यारझयारको संज्ञा दिएका छन् ।

सार्वजनिक खपतका लागि गरिने यस्ता सस्ता टिप्पणीले कांग्रेस–एमालेको सहकार्यलाई कुनै फरक नपर्ने भन्दै रिजालले कागजी बाघहरुलाई समाचारका लागि शीर्षक बन्ने मौका मात्र दिने टिप्पणी गरेका छन् ।

‘व्यवसायी मीनबहादुर गुरुङले एमालेले पार्टी कार्यालय बनाउन जग्गा दिए, ती साथीहरुलाई खनिनसक्नु भएछ र विरोध गर्न हतार गरे ।नेकपा एमालेले आफ्नो पार्टीको विधानअनुसार अनुशासनका विषयमा निर्णय गर्यो, तिनकै मुख चिलायो र सार्वजनिक रुपमा टिप्पणी गरे । अहिले अध्यक्ष केपी शर्मा ओलीले संसदभित्रको गणितको सन्दर्भमा सविस्तारमा भनेको कुरालाई बुझ्नुसुझ्नु छैन, विश्वजीले फेरि प्याच्च टिप्पणी गर्नुभएछ’, रिजालले भनेका छन्, ‘खसखस लागेमा भेट दिएमा आफ्नै सभापतिलाई सोध्दा पनि हुँदो हो, प्रधानमन्त्रीसँगै भेटेर कुरा गरे पनि हुँदो हो ।

सार्वजनिक खपतका लागि गरिने यस्ता सस्ता टिप्पणीले कांग्रेस–एमालेको सहकार्यलाई त कुनै फरक पर्दैन । कागजी–बाघ‘ साथीहरुलाई समाचारका लागि शीर्षक बन्ने मौका मात्र दिन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us