काठमाण्डू, २४ पुस– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिप्रक्रियाका बाँकी काम सबैको सहमतिमै पूरा गर्नुपर्ने बताएका छन ।
अध्यक्ष प्रचण्डले विगतमा आफूलाई पटकपटक बहुमत र अल्पमतको आधारमा शान्तिप्रक्रियासँग जोडिएको विधेयक टुंग्याउन आग्रह गरिएको भए पनि सधैँ त्यसलाई इन्कार गरेको बताए ।
आज (बुधबार) राज्यद्वारा बेपत्ता पारिएका राजेन्द्र ढकालको २६औं स्मरण दिवसको अवसरमा परिवारले आयोजना गरेको ‘शान्तिप्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
उनले भने, ‘मलाई पटकपटक बहुमत र अल्पमतको आधारमा शान्तिप्रक्रियासँग जोडिएको विधेयक टुंग्याउन आग्रह गरिएको थियो । तर, मैले त्यसलाई इन्कार गरिरहेँ, हामीले जसरी १२बुँदे समझदारी र शान्तिसम्झौतामा सहमति गरेका छौं, त्यसैको मर्म र भावनाअनुसार नै यसलाई टुंग्याउनुपर्छ ।’ बिचलित भएर सहमतिबाट दायाँबायाँ भए शान्तिप्रक्रिया अझै धेरै वर्ष अलपत्र पर्न सक्ने भन्दै उनले यसमा निरन्तर सहमतिको प्रयास भइरहेको जानकारी दिए ।
केही राजनीतिक शक्तिहरूले यसलाई माओवादीविरुद्ध प्रयोग गर्ने हतियारको रूपमा लिएका कारण पनि शान्तिप्रक्रियाका बाँकी काम टुंगिन समस्या आएको प्रचण्डको भनाइ थियो ।