लमजुङबाट नवीकरण नभएका ११४ थान हतियार बरामद

काठमाण्डु टुडे २०८१ पुष २४ गते १४:१२ मा प्रकाशित

काठमाण्डू, २४ पुस– प्रहरीले लमजुङका विभिन्न स्थानबाट लामो समयदेखि बरामद नगरेका ११४ थान हतियार बरामद गरेको छ । सबैभन्दा धेरै १०७ थान भरुवा बन्दुक बरामद गरिएको लमजुङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले पटक पटक मौका दिँदा पनि नवीकरण नगरिएका ११४ थान हतियार बरामद गरिएको लमजुङका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिएका छन ।

पछिल्लो ३ महिनाको अवधिमा २२ बोर हर्नेट, १२ बोर दुई नाले, एकनाले वृज लोडिङ राइफल र १२ बोर दुई नाले बन्दुक बरामद गरिएको डीएसपी श्रीवास्तवले बताए । अवैध रूपमा हतियार राखेको भेटेपछि दुई जनालाई प्रहरीले मुद्दा चलाएको छ ।

स्थानीयले ४ सय ७० थान हतियार द्वन्द्वकालमा बुझाए पनि त्यसको रेकर्ड जिल्ला प्रशासन कार्यालयबाट हटाइएको थियो । ती हतियार रुजु गरेर अहिले लगत राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us