काठमाण्डू, २३ पुस– एमाले सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले आफूले पार्टी नछाडेको बताएका छन् ।
भट्टले सामाजिक सञजलमार्फत आफू एमालेमै रहेको बताएका हुन् । सामाजिक सञ्जालमा भट्टले एमाले छाडेको चर्चा चलेपछि उनको प्रष्टीकरण आएको हो ।
एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न नदिने तथा विचार ,सिद्दान्त र कर्मले लड्न नसक्ने असामाजिक तत्वहरूले पार्टीको राष्ट्रियता र समृद्धिको यात्रालाई कमजोर पार्ने बदनीयतले तथ्यहीन कूप्रचार गरेको दाबी भट्टले गरे । यस्तै प्रचारबाजी जारी राखिए कानुनी कारबाहीको प्रक्रियामा जाने चेतावनी पनि उनले दिए ।
‘सम्पूर्ण शुभचिन्तक तथा नेकपा एमालेका नेता कार्यकर्ताहरूमा यस्ता गलत, भ्रामक र तथ्यहीन हल्लाका पछाडि नलागी नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न अनुरोध छ’, भट्टले लेखेका छन्, ‘विचार ,सिद्दान्त र कर्मले लड्न नसक्ने असामाजिक तत्वहरूले नेकपाएमालेको राष्ट्रियता र समृद्धिको यात्रालाई कमजोर पार्ने बदनीयतले यस्ता तथ्यहीन कूप्रचार गर्ने कार्य जारी राखेमा कानुनी कारबाहीको प्रक्रियामा जाने कुरा अवगत गराउन चाहन्छु ।’