तत्काल संसद अधिवेशन बोलाउन माओवादीको माग

काठमाण्डु टुडे २०८१ पुष २३ गते २०:०५ मा प्रकाशित

काठमाण्डू, २३ पुस– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसदको हिउँदे अधिवेशन बोलाउन तत्काल माग गरेको छ ।

मंगलबार सकिएको माओवादी केन्द्रीय समिति बैठकले तत्काल संसद बैठक बोलाउन सरकारसँग माग गरेको हो । ‘तत्काल संघीय संसद र प्रदेशसभाहरुको हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग जोडदार माग गर्दछ’ बैठकबाट पारित प्रस्तावमा छ ।

माओवादीले सार्वभौम संसदलाई छलेर अध्यादेसमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुई दलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरंकुश प्रवृतिप्रति आपत्ति जनाएको छ ।

पुस सकिन लाग्दासमेत सरकारले हिउँदे अधिवेशन नबोलाउनुले विपक्षी दलहरुलाई सशंकित बनाएको छ । विपक्षी दलहरुले सरकारले संसद अधिवेशन समयमै नबोलाएर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको आरोप लगाउँदै आएका छन् ।

माओवादीले संघीयता र मौलिक हक कार्यान्वयनसँग सम्बन्धित निजामती सेवा ऐन, संघीय प्रहरी ऐन, विद्यालय शिक्षा लगायतका प्रस्तावित विधेयकहरु तत्काल पारित गर्न पनि माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us