ओलीतिर औंला उठाउँदै एमाले नेताले भनेः दुर्गा प्रसाईंलाई काँधमा बोकेर हुर्काउने काम हामीबाटै भएको हो

काठमाण्डु टुडे २०८१ पुष २३ गते १९:३८ मा प्रकाशित

काठमाण्डू, २३ पुस– एमाले केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी ओली पक्षकै नेताहरुले दुर्गा प्रसाईं र सर्वेन्द्र खनाललाई विगतमा नेता बनाइएकामा नेतृत्वको आलोचना गरेका छन् ।

बैठकको अन्तिम दिन बोलेका पोलिट्ब्युरो सदस्य मोहन बानियाँले प्रसाईंलाई पार्टीको केन्द्रीय सदस्य बनाइनु गलत रहेको बताए । एमालेको सौराहा अधिवेशनपछि ओलीले नाति नाता पर्ने प्रसाईंलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । उनै प्रसाईं अहिले एमालेका लागि घाँडो भइरहेका छन् ।

उनले एमाले अध्यक्ष ओलीसहित नेताहरुको चर्को विरोध गरिरहेका छन् । ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा २२ अर्ब लगानी गरेको आरोप लगाएपछि प्रहरीले पक्राउ गरे पनि अदालतको आदेशमा उनी रिहा भइसकेका छन् ।

‘दुर्गा प्रसाईंजस्ता मानिसलाई नेता बनाउँदा पार्टीमा समस्या आयो’, उनले भने, ‘यस्ता मान्छेलाई अबका दिनमा पार्र्टीमा नेता नबनाइयोस् । यसै गरी हामी मिसन ०८४ मा गयौं भने परिणाम हाम्रो पक्षमा आउँदैन ।’ अर्का नेता निर्मल भट्टराईले पार्टीमा लामो समय त्याग तपस्या र योगदान गरेकाहरुलाई पाखा लगाएर प्रसाईंलाई केन्द्रीय समितिमा ल्याइनु गल्ती भएको बताए ।

‘दुर्गा प्रसाईंलाई हुर्काउने काम हामीबाटै भएको हो’, उनले भने, ‘हामीले ल्याएर नेता नबनाएको भए उनले अहिल्यै गरिरहेको बबण्डरको जिम्मा लिनु पर्दैनथ्यो ।’

उनले पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाललाई पनि पार्टीमा ल्याएर अवसर दिएकामा नतृत्वको आलोचना गरे । ‘आगामी दिनमा दुर्गा प्रसाईं र सर्वेन्द्र खनाललाई हामीले काँध थाप्ने दिन नआओस्’, ओलीलाई सुझाव दिँदै भट्टराईले भने ।

पार्टी उद्योग विभागको उपप्रमुखसमेत रहेका प्रसाईंलाई एमालेको निस्काशन गरिसकेको छ भने खनालले पनि केही दिनअघि पार्टी छाडेको घोषणा गरेका छन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा एमालेले खनाललाई काठमाण्डू निर्वाचन क्षेत्र नम्बर–६ बाट उम्मेदवार बनाएको थियो । उनी रास्वपाका शिशिर खनालसँग पराजित भए ।

त्यसको ६ महिनापछि भएको तनहुँ–१ को उपनिर्वाचनमा पनि एमालेले खनाललाई नै उम्मेदवार बनायो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us