माओवादीले ६ महिना अभियान, अर्को ६ महिनापछि विशेष महाधिवेशन गर्ने

काठमाण्डु टुडे २०८१ पुष २३ गते १८:३३ मा प्रकाशित

काठमाण्डू, २३ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब पहिलो छ महिना अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संश्लेषणका लागि विशेष महाधिवेशनमा जाने बताएका छन् ।

मंगलबार केन्द्रीय समितिको बैठकलाई समापन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले छ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने घोषणा गरे ।

अभियानबाट व्यापक रूपमा जनताको सुझाव आउने भएकाले छ महिने अभियान पनि अन्ततः विशेष महाधिवेशनकै तयारी हुने उनले बताए । माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us