ठुला कुरा गरे विन्दा र उषालाई पनि पार्टीबाट निकालिदिन्छुः अध्यक्ष ओली

काठमाण्डु टुडे २०८१ पुष २३ गते १७:३२ मा प्रकाशित

काठमाण्डू, २३ पुस– प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र बसेर ठुला कुरा गरे पार्टीबाटै निकालिदिने चेतवानी दिएका छन । आइतबारबाट ललितपुरको च्यासमास्थित एमाले मुख्यालय च्यासलमा जारी एमालेको केन्द्रीय कमिटिको बैठकमा आज समापन सत्रमा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन ।

एमालेको केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष ओलीको कार्यशैलीप्रति केन्द्रीय सदस्यहरुले चर्को आलोचना गरेका थिए । बैठकमा केन्द्रीय सदस्यहरुले पूर्व उपाध्यक्ष डा. भिम रावललाई पार्टीबाट गरीएको निष्कासन र दुई नेतृमाथि गरीएको निलम्बन फिर्ता गर्नु पर्ने माग गरेका थिए ।

त्यसको जवाफमा ओलीले गरिसकिएको कारबाही पुर्नविचार नहुने प्रतिक्रिया दिएका छन । केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै आजको बैठकमा अध्यक्ष ओलीले भने, ‘उनीहरुलाई कारबाही गर्न ढिलो भयो । पिलो निचोरिदैँमा वजन घट्दैन ।

उनीहरुमाथिको कारबाही पुर्नविचार हुँदैन । ’ साथै अध्यक्ष ओलीले विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको प्रतिक्रिया हेर्दा ६ महिना पर्खिन सकिने जस्तो नरहेको प्रतिक्रिया दिएका छन । अध्यक्ष ओलीले अर्काे बैठकमा विन्दा पाण्डेको निर्णय हुन सक्ने चेतावनी पनि दिएका छन । ओलीले विन्दालाई चम्केर नबोल्न समेत आग्रह गरेका छन ।

ओलीले विन्दा र उषाले कहिले पनि एमाले पार्टीको पक्षमा नबलेको पनि बताए । अध्यक्ष ओलीले भने, उहाँहरु कहिले पनि पार्टीको पक्षमा बोल्नु हुँदैन । उल्टो पार्टीका विरुद्धमा मिडियामा बोल्दै हिँड्नु हुन्छ । फेसबुकमा, टिभीमा आउने एनजिओका डलर खाँदा स्वाभिमा भइन्छ ? ठुला कुरा गर्ने ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us