काठमाण्डू, २३ पुस– काठमाण्डूमा जारी प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ ।
सोमबारबाट सुरु छलफलमा भाग लिन एक सय ८० जनाले नाम लेखाएका थिए । प्रत्येकलाई तीन–तीन मिनेटभित्र अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न समय निर्धारण गरिएको थियो । नाम टिपाएकामध्ये सोमबार ८० जनाले निर्धारित समयभित्रै धारणा राखे ।
मंगलबार बिहान ११ बजेबाट पुनः छलफल सुरु भयो । नाम टिपाएका केन्द्रीय सदस्य, पोलिट्ब्युरो, हुँदै स्थायी समिति र अधिकांश पदाधिकारीले खाजा समयअगाडि नै आआफ्ना धारणा राखिसकेका छन् । उनीहरू सबैले तीन–तीन मिनेटभित्रै आफ्ना कुरा राखे ।
एक केन्द्रीय सदस्यका अनुसार उपमहासचिव जनार्दन शर्माले भने १० मिनेट बढी समय लिए । उनले बोल्ने पालो आएपछि आफ्नाबारेमा प्रश्नहरू उठेकाले तिनको जवाफ दिनुपर्ने र आफूले पनि प्रतिवेदनसहित नेतृत्वसँग जवाफ माग्नुपर्ने भएकाले समय नपुग्ने भन्दै अध्यक्षसँग समय थपको माग गरेका थिए ।
उनको मागअनुसार नै अध्यक्ष प्रचण्डले १० मिनेट थप राख्नुस् भनेपछि शर्माले १३ मिनेटसम्म बोले ।