काठमाण्डु, २२ पुस– संघिय संसद अन्तगर्तको सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिएका छन ।
पोखरेलले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ ।
ठगी आरोपमा मुछिएको विषय सार्वजनिक भएपछि पोखरेलले स्वकीय सचिवलाई शुक्रबार जिम्मेवारीबाट हटाएका थिए ।
पोखरेलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौवालाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए । तर पोखरेलले पैसा फिर्ता दिएनन् ।
उल्टै बौवालाललाई २०७९ साउन ९ गते हिसाब चुक्ता गरिदिन्छु भन्दै बोलाएर ५० लाख रुपैयाँ ऋण लिएको कागज बनाएका थिए ।
आफूलाई जबरजस्ती २०७४ साल असार २५ गते आइतबारको मिति राखेर ऋण लिएको भनि कपाली तमसुक बनाएपछि उनी प्रहरी कार्यालय पुगेका थिए । जबरजस्ती बनाएको तमसुक च्यात्न र ठगी कसूरमा कारवाही गर्न भन्दै जाहेरी दिन प्रहरी कार्यालय गए पनि प्रहरीले जाहेरी दर्ता गरेन् ।