राज्य व्यवस्थामा सांसद थानी र सभापति खतिवडाबिच चर्काचर्की

काठमाण्डु टुडे २०८१ पुष २२ गते १४:५२ मा प्रकाशित

काठमाण्डु, २२ पुस– आज सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबिच चर्काचर्की परेको छ ।

सोमबारको समिति बैठकमा थानीले धेरै विधेयकहरू सुतेको भनेपछि थानी र सभापति खतिवडाबिच चर्काचर्की परेको हो । ‘संवैधानिक परिषद् विधेयक संसदमा सुतेको छ, अख्तियार विधेयक समितिमा आइसियुमा रहेको छ’, थानीले विधेयकहरू अघि नबढेकोमा चिन्ता प्रकट गरे ।

थानीले यसो भनेपछि सभापति खतिवडाले उनलाई रोक्दै ‘तपाईंको समितिले दिएको सुझाव धेरै भएको छैन’ भनेर जवाफ दिए । त्यसपछि सांसद थानी आक्रोशित बने, उनले भने, ‘समितिमा तपाईं नै बोल्नुस् ।

ओभरटेक गर्ने ? म बोल्दिनँ’ उनले आफू पनि समिति सभापतिको कुर्सीमा बसेर आएकाले कम नआँक्न स्मरण गराए । ‘म पनि त्यो चियरमा बसेर आएको हो’, थानीको भनाइ थियो ।

त्यसपछि सभापति खतिवडाले थानीलाई बोल्न समय दिए । तर उनी बोल्न चाहेनन् । त्यसपछि एमाले सांसद कृष्ण गोपाल श्रेष्ठले दुवैलाई सम्झाउने प्रयास गरे ।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक समितिमा प्राप्त निवेदन तथा उजुरीहरुका सम्बन्धमा छलफल गर्न बोलाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us