भारतले सरकार ढाल्न खोजेको छ, तर ढल्दैनः पाण्डे

काठमाण्डु टुडे २०८१ पुष २१ गते २०:३१ मा प्रकाशित

काठमाण्डु, २१ पुस– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार भारतले ढाल्न चाहेको बताएका छन् ।

लमजुङ सदरमुकाम बेसीसहरमा आइतबार आयोजित ‘गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना, तहगत सम्बन्ध तथा आयोजना बैंकसम्बन्धी अभिमुखीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले भारतले चाहेर मात्र सरकार नढल्ने बताए ।

मुलुकको आवश्यकताअनुसार कांग्रेस–एमाले मिलेर सरकार बनाएको उनको भनाइ थियो । जनमतका आधारमा वर्तमान सरकार हालसम्मकै बलियो रहेको उनको भनाइ थियो ।

‘कांग्रेस–एमालेको अहिलेको सरकार भोलि ढल्छ रे । पर्सी ढल्छ रे । फेरि बिग्रिन्छ रे भन्ने सुनिरहनुभएकै छ’, पाण्डेले भने, ‘कतिपय भन्छन् इन्डियाले चाह्यो भने ढल्छ रे । सबै कुरा इन्डियाले चाहँदैमा कहाँ हुन्छ र ? हामीले हाम्रो परिस्थितिअनुसार गर्ने हो । शेरबहादुर देउवा र केपी ओली नचाहँदासम्म यो सरकार ढल्दैन ।’

पाण्डेले यो सरकारले काम गर्न नसके जनतामा रहेको निराशा थप बढेर जाने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us