भ्रष्टाचारविरोधी अभियन्ता दाबी गर्ने राप्रपा नेता सहकारी ठगीमा

काठमाण्डु टुडे २०८१ पुष २१ गते १९:३६ मा प्रकाशित

काठमाण्डु, २१ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता पुष्पराज पौडेल काठमाण्डुको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको खुलासा भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले पौडेलसहित ३९ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डुमा आइतबार संगठित अपराध र ठगी कसुरमा मुद्धा दायर गरेको हो ।

उनी यसअघि पनि ठगी आरोपमा पक्राउ परेका थिए । रामेछापका स्थायी बासिन्दा पौडेल युट्युबमा चर्का कुरा गरेर बेलाबेला चर्चामा आउने गरेका छन् ।

सहकारी ठगी छानबिन गर्न गठित संसदीय विशेष समितिले पौडेललाई बोलाएर बायन लिएको थियो । अर्काको जमिन नक्कली पूर्जा बनाएर बेचेको कसुरमा पौडेल ०७५ सालमा पनि पक्राउ परेका थिए ।

पौडेल आफैं भने भ्रष्टाचारविरुद्धको अभियन्ता दाबी गर्दै अभियानमा सक्रिय थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us