काठमाण्डु, २१ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले संक्रमणकालीन न्यायको विषयलाई राजनीतिक दाउपेचको विषय बनाएको आरोप लगाएका छन् ।
आज आइतबारबाट काठमाण्डुमा सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्यायको कामलाई एमालेले राजनीतिक दाउपेचको विषय बनाउँदा आयोग गठनमा ढिलाइ भइरहेको पनि बताएका छन ।
एमालेले भने संक्रमणकालीन न्यायसम्बन्धी कामलाई गठबन्धन सरकारको ६ महिनाको प्रमुख आठ कामको सूचीमा समेटेको छ ।
आइतबारबाट सुरु भएको एमाले केन्द्रीय समितिको बैठकमा प्रस्तुत प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका छन्, ‘लामो समयदेखि उपेक्षामा परेको र राजनीतिक दाउपेचको विषय बनेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई संसद्बाट सर्वसम्मत रूपमा पारित गरिएको छ । यसले ऐनको रूप लिइसकेको छ । ’