काठमाण्डु, २१ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य नहुने बताएका छन् । आज आइतबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।
अध्यक्ष ओलीले लोकतन्त्रको नाममा गुटबन्दी गरेर भाँडभैलो मच्याउने कामले पार्टीलाई बलियो नबनाउने टिप्पणी गरे । अध्यक्ष ओलीले भनेका छन, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन, बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ ।’
उनले केन्द्रीय कमिटी बैठकमा ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पनि पेस गरेका छन् । अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले तीनरतीन मिनेट धारणा राख्नेछन् ।
बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह पनि गरेका छन । अध्यक्ष ओलीले भनेका छन, ‘पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूलाई अहिले लड्डु ओकल्नुपरेको छ, ।
उनले विरोधीहरूले लगाएका आरोपको तथ्य र प्रमाणका आधारमा खण्डन गर्न पनि निर्देशन दिएका छन् । ‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ,’ ओलीले भनेका छन् ।