काठमाण्डु, २१ पुस– गत १७ पुस साँझ ७ बजेर १० मिनेट जाँदै गर्दा भक्तपुरको मध्यपुरठिमी नगरपालिका९२ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट मगरगाउँतर्फ एक स्कुटर जाँदै थियो ।
बागमती प्रदेश ०२९०२८ प ६६१० नम्बरको उक्त स्कुटरका चालक थिए ३१ वर्षीय निश्चल प्रकाश राज भण्डारी । स्कुटरकै पछाडि सवार थिइन् उनकी श्रीमती २८ वर्षीया पूजा श्रेष्ठ । भक्तपुर सानोठिमी धुन्चेपाखा बस्ने उनीहरु घरतर्फ जादै थिए । आफ्नै सुरमा स्कुटर चलाउँदै गरेका निश्चलको अगाडि अकस्मात एउटा कुकुर ठोक्किन आइपुग्यो । कुकुरलाई जोगाउन खोज्दा उनको स्कुटर अनियन्त्रीत भई दुर्घटनामा पर्याे ।
बाटो क्रस गर्न लागेको कुकुरलाई जोगाउन खोज्दा निश्चलको स्कुटर अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा श्रीमान निश्चलका साथै उनकी श्रीमती पूजा पनि घाइते भइन् ।
तत्कालै प्रहरीले उद्दार गरेर भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारका लागि पठाएको थियो । तीन दिनसम्म उक्त अस्पतालमा उपचार भयो । तर, त्यहाँ उपचार सम्भव हुन नदेखेपछि १८ पुस दिउँसो २ बजे निश्चल र उनकी श्रीमती पूजालाई थापाथलीस्थित नर्भिक अस्पताल पठाइएको थियो ।
दुवै दम्पतीको एक दिनसम्म नर्भीक अस्पतालमा उपचार भयो । तर, १९ पुसको साँझ साढे ७ बजे चिकित्सकले श्रीमान् निश्चललाई मृत घोषणा गरे । स्कुटरकै पछाडि सवार उनकी श्रीमतीको भने अहिले पनि नर्भीक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनमा परेको स्कुटर प्रहरी प्रभाग सानोठिमीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान गर्दा पूजाले प्रहरीलाई दुर्घटनाको कारण खुलाएकी थिइन् । पूजाको भनाइलाई उद्धृत गर्दै जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) ढुण्डिराज नेउपाने भन्छन्, ‘उहाँहरु आफ्नै सुरमा स्कुटर चलाइराख्नु भएको रहेछ । कसैले ठक्कर दिएको पनि होइन रैछ ।
कुकुरलाई जोगाउन खोज्दा दुर्घटनामा परेको देखिएयो ।’ मृतक र घाइते झापाको भद्रपुर नगरपालिकाको उपमेयर चन्द्रा श्रेष्ठका छोराबुहरी रहेको खुलेको छ ।
उनको परिवारले बताए अनुसार उनीहरु दुवै जना अष्ट्रेलिया उड्ने तयारीमा थिए । अष्ट्रेलिया जान भनेर झापाबाट बिदाबारी भएर उनीहरु काठमाडौं आएका थिए । तर कुकुरका कारण निश्चलको अष्ट्रेलिया उड्ने सपना पूरा हुन पाएन ।