काठमाण्डु, १९ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्ने बताएका छन ।
आज (शुक्रबार) नेपाल पत्रकार महासंघ काठमाण्डु शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताएका हुन ।
अध्यक्ष प्रचण्डले भने, ‘जहाँ भ्रष्टाचार भएको, समाजले मानेको छ । गम्भीर ढंगले सदनमा प्रश्नहरू उठेका छन् । जनताले हेर्न चाहेको छ त्यहाँ हामी इमानदारिताका साथ त्यसको अनुसन्धानमा लाग्न जरुरी छ’ ।
उनले यसको निम्ति राजनीतिक दलहरूका बीचमा सहमति र एकता हुन आवश्यक रहेको पनि बताएका छन । अध्यक्ष प्रचण्डले थपे, ‘नियत र निष्ठा कसको के हो भन्ने कुरा बढी महत्वपूर्ण हुने रहेछ, ‘हामी के साँच्चै सुशासनको पक्षमा इमानदारिताका साथ भ्रष्टाचारको विरुद्ध जसरी जानुपर्ने हो त्यसरी गएका छौं त ? नेपाली जनताले राजनीतिक दलहरूबाट, सरकारबाट त्यो महसुस गरेको छ त ?’