काठमाण्डु, १८ पुस– काठमाण्डु महानगरपालिका–९ गौशालास्थित होटलमा मृत फेला परेकी सुस्मिता खड्का कलेजसँगै जापनिज भाषा पनि पढिरहेकी खुलेको छ । काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी उनी बुधबार होटल बागमतीको ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी हुन् । सुस्मिताको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
उनीसँगै होटलमा गएका युवक फरार छन् । जापान जाने तयारी स्वरूप उनले भाषाकक्षा पढिरहेकी थिइन् । पुस १६ मा मध्यान्ह उनीसँगै होटलमा गएका युवक फरार भएको प्रहरीले जानकारी दिएको छ । युवक जापानबाट मंसिर ३० मा नेपालमा आएको अनुसन्धानमा संलग्न अधिकृतहरूले जानकारी दिएका छन । ३ वर्षदेखि जापानमा बसेका ती युवक छुट्टीमा काठमाण्डु आएका थिए । होटलमा सुस्मिताको हत्या गरिएको अनुसन्धान अधिकृतहरूले आशंका गरेका छन् ।
युवक होटलको ढोकामा ताला लगाएर फरार भएको भेटिएको छ । एकजना अधिकृत भन्छन्, ‘बाहिरबाट ढोक लक गरेर चाबी लिएर आरोपी भागेको देखिन्छ । सुस्मिताको शरीरमा चोटपटक देखिएको छैन । पोष्टमार्टम पछि उनको मृत्युको कारण खुल्छ । ती युवक बिहीबार नै जापान फर्किने तयारीमा थिए । प्रहरीले उनको खोजी गरिरहेको छ ।