काठमाण्डु, १४ पुस– उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको बताएका छन । साथै उनले विकास निर्माण गर्दा प्रकृतिको ख्याल गर्नुपर्ने पनि बताएका छन ।
आज (आइतबार) सोलु दूधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले जथाभावी विकास निर्माण गर्न नहुने उल्लेख गर्दै प्रकृतिलाई कम हानी गर्दै विकास निर्माण गर्नुपर्ने पनि बताएका छन ।
उनले भने, ‘विकास निर्माण प्रकृतिमैत्री हुनुपर्छ, हामीलाई विभिन्न घटनाक्रमले पनि सिकाएको छ, गाउँ ठाउँलाई जोगाउने हो भने वातावरणलाई हामीले ध्यान दिनैपर्छ ।’ उनले प्रशासकीय भवन निर्माण भएपछि पालिकाको सेवा प्रवाह प्रभावकारी हुने र नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गरेका छन । पर्यटकीय हिसाबले सोलुखुम्बु उत्कृष्ट गन्तव्य रहेको उल्लेख गर्दै उनले ४० वर्ष अगाडि पिता गणेशमान सिंहसँग सोलुखुम्बु आएको स्मरण गरे ।
तत्कालीन समय र अहिले हेर्दा आफूले सोलुखुम्बुमा विकास निर्माणको हिसाबले धेरै परिवर्तन पाएको उनको भनाइ थियो । अहिले व्यवस्था फेरियो अवस्था फेरिएन भन्दै गलत भाष्य बनाउन खोजिएको भन्दै उनले त्यो सत्य नभएको स्पष्ट पारे । उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता र आर्थिक विकासका लागि अहिलेको सरकारले काम गरिरहेको र जनतालाई थप अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पारे ।