प्रधानमन्त्री ओलीको कार्यक्रममा सहभागी गराउन बाँडियो २–२ लिटर पेट्रोल

काठमाण्डु टुडे २०८१ पुष १४ गते १३:२२ मा प्रकाशित

काठमाण्डु, १४ पुस– नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार पर्सा आउँदै छन् । एमाले पार्टी कार्यालय पर्साले राखेको पार्टी प्रवेश कार्यक्रममा सरिक हुन प्रधानमन्त्री ओली पर्साको सखुवाप्रसौनी गाउँपालिकामा आउन लागेको पर्सा एमालेले जनाएको छ ।

आइतबार मध्यान्ह साढे १२ बजे हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली आउन लागेको बताइएको छ । कार्यक्रममा गाउँपालिकाका पूर्वमेयर प्रदीप जैसवाललाई पार्टी प्रवेश गराउन ओली आउन लागेको एमाले पार्टी पर्साले जनाएको छ ।

यही कार्यक्रममा ठुलो सहभागिता देखाउनको लागि गाउँगाउँमा तेलको कुपन बाँडिएको कार्यक्रममा सहभागी हुन लागेको एक एमाले कार्यकर्ताले बताए । प्रत्येक पालिकामा यसरी कुपन बाँडिएको छ ।

सखुवा प्रसौनी गाउँपालिकामा प्रधानमन्त्री ओलीको करिब चार घण्टा रहने कार्यक्रम तय छ ।नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्माले पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ५ हजार कार्यकर्ता प्रवेशको कार्यक्रम रहेको बताए ।

तर प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले आफूहरूले कुनै किसिमको तेलको कुपन नबाँडेको बताए । उनका अनुसार गाउँ गाउँबाट कार्यकर्ताहरू आफ्नै खर्चमा कार्यक्रममा सहभागी हुन आइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us