काठमाण्डु, १३ पुस– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै किसिमका अराजकताका विरुद्ध सरकार कठोर भएर अघि बढ्ने बताएका छन ।
मुख्यमन्त्री कार्कीले अराजकता र राजनीतिक अस्थिरतालाई उपयोग गरे नेपाली जनताको विकास र समृद्धिको चाहनामा अवरोध पुर्याउने नयाँ, पुराना जुनसुकै पार्टीका नेता, कार्यकर्तालाई कानुनी कठघरामा ल्याउने सरकार प्रतिबद्ध रहेको पनि मुख्यमन्त्री कार्कीले बताएका छन ।
मुख्यमन्त्री कार्कीले भने, ‘सहकारीमा जम्मा गरेको सर्वसाधारणको करोडौँ अर्बौँ रकम अपचलन गर्ने, आफ्नै बैंक खातामा कहाँबाट पैसा आयो भन्ने थाहा नपाए झै गर्ने, आफैँले काटेको चेक मलाई थाहा छैन भन्ने जस्ता गैरजिम्मेवारी पूर्णजवाफ दिनेसम्मका हर्कत अराजक प्रवृत्तिहरु हुन्।’
कुनै बहानामा ठगी र अपराध गर्ने कानुनी दायरा बाहिर हुन नसक्ने भन्दै उनले कुनै दल विशेषको नेता हुँदैमा कानुनी कारबाहीबाट मुक्ति हुनुपर्छ भन्ने तर्क गर्नेले सामाजिक सञ्जालमा अराजकता मच्चाइरहेको उनले बताए ।
७० प्रतिशत जनमतसहितका कांग्रेस–एमालेको सत्ता सहकार्यबाट मुलुकअघि बढिरहेको र यसले सरकारको स्थिरता र जनताको विकास र समृद्धिको चाहनालाई बढाइरहेको उनको भनाइ छ ।