काठमाण्डु, १३ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी एक नम्बर पार्टी भए मात्रै देशबाट भ्रष्टाचारको अन्त्य हुने दाबी गरेका छन ।
आज (शनिबार) कञ्चनपुरको पुनर्वासमा आयोजित खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
प्रचण्डले माओवादी पार्टी एक नम्बर भए मात्रै सामाजिक न्याय र समाजवादको आधार तयार हुने पनि बताएका छन ।
अध्यक्ष प्रचण्डले अहिले देशैभरि माओवादीमा एकताबद्ध तथा समायोजन हुने लहर चलेको पनि बताएका छन । प्रचण्डले अगाडी भने, ‘पर्सि झापा जाँदैछु । केपी ओलीको निर्वाचन क्षेत्रमा पनि हजारौं प्रवेश गर्ने तयारी छ ।’
भ्रष्टाचारको पक्षको यो सरकारले धेरै काम गरेको आरोप लगाउँदे उनले भने, ‘म तपाईंहरूलाई भन्न चाहन्छु गिरिबन्धुको फाइल खुल्ने छ, त्यसलाई लुकाउन दिइने छ ।
ओम्नीमा भएको भ्रष्टाचार छोडिने छैन । वाइडबडीको भ्रष्टाचार छोडिने छैन । यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ ।’
अर्को पल्ट माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु हुने भन्दै उनले भ्रष्टाचारीलाई लखेट्ने प्रक्रिया सुरु हुने पनि बताएका छन ।