दक्षिण कोरियामा सैनिक शासन लगाउने राष्ट्रपतिको असफल प्रयास

काठमाण्डु टुडे २०८१ मंसिर १९ गते ८:०१ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलको सैनिक शासन (मार्शल ल) लगाउने प्रयास विफल भएको छ ।

उनले मंगलबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै कम्युनिष्ट शक्तिबाट देशको सुरक्षा गर्न तथा राष्ट्रविरोधी विरोधी तत्वलाई ठेगान लगाउन भन्दै सैनिक शासन घोषणा गरेका थिए ।

त्यसलगत्तै त्यहाँको संसद भवन सेनाले घेरेको थियो । त, संसदले राष्ट्रपतिको कदम अस्वीकार गरेसँगै योलको सैनिक शासन लगाउने प्रयास असफल भएको छ ।

दक्षिण कोरियाका सांसदहरुले नेशनल एसेम्बलीको मध्यराति बसेको बैठकबाट मार्शल ल लगाउने निर्णय फिर्ता हुनुपर्ने प्रस्ताव पारित गरेका थिए । त्यहाँको संसदमा प्रतिपक्षी दलको बहुमत छ ।

राष्ट्रपतिको घोषणाको विरोधमा प्रतिपक्षी दल सडकमा उत्रिएको थियो । राष्ट्रपतिको घोषणाको विरोधमा उनकै दलका कतिपय नेतासमेत देखिएका छन् ।

त्यसलगत्तै फेरि देशबासीलाई सम्बोधन गर्दै सैनिक शासन लगाउने निर्णय फिर्ता लिएको घोषणा गरे । त्यसलगत्तै उनले व्यारेकबाहिर निस्किएको सेना पनि फिर्ता बोलाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us