
एजेन्सी– दक्षिण कोरियाले एक पुरुषलाई जेल सजाय हुने भएको छ । सेनामा अनिवार्य सेवा छल्नका लागि मोटोपनाको सिकार हुने गरी खाएको भन्दै ती पुरुषलाई अभियोग चलाइएको थियो ।
नाम सार्वजनिक नगरिएका उनलाई सोलको एउटा अदालतले नोभेम्बर १३ मा सुनाएको फैसलामा देशको सैन्य सेवा ऐनको उल्लङ्घन गरेको भन्दै एक वर्षको जेल सजाय तोकेको समाचारमाध्यम हरुले जानकारी दिएका छन ।
सेनामा काम गर्नेक्रममै १०२ किलो तौलको भएपछि गएको वर्ष जुनमा उनलाई सक्रिय ड्युटीबाट हटाइएको थियो । त्यसको ६ वर्ष अघि भने उनी सेनामा सेवाका लागि प्रारम्भिक शारीरिक परीक्षाबाट योग्य साबित भएका थिए ।
तौल बढाउन पुरुषले उच्च क्यालोरीयुक्त खानेकुरा खाएको अनि शारीरिक परिश्रम पर्ने काम पनि गर्न नमानेको र जानी जानी तौल बढाउन तौल नाप्नु अघि उच्च मात्रामा पानी खाएको न्यायाधीशले फैसलामा भनेका छन् ।
ती पुरुषलाई त्यस्तो युक्ति सुझाउने अर्का पुरुषलाई पनि ६ महीनाको जेल सजाय सुनाइएको छ ।