भारतको मणिपुरमा उग्र साम्प्रदायिक हिंसा, थप ६ वटा शव भेटियो

काठमाण्डु टुडे २०८१ मंसिर ३ गते २१:२८ मा प्रकाशित

काठमाण्डू, ३ मंसिर-  भारतको उत्तर-पूर्वी राज्य मणिपुरमा साम्प्रदायिक हिंसा मच्चिएको छ ।

अल्पसंख्यक कुकी समूह र मैतेई समूहबीचको विवादले हिंसा भड्किएको हो ।

मैतेई समूहले कुकी समूहले आफ्ना समुदायका मानिसको अपहरणपछि हत्या गरेको आरोप लगाएका छन् ।

महिला र बालबालिकाका ६ वटा शव भेटिएपछि प्रदर्शन उग्र भएको थियो । ती शव मैतेई समुदायका मानिसहरुको भएको अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सन्चार माध्यमले जनाएका छन् ।

प्रहरीले मैतेई समूहका अगुवाको दावी पुष्टि हुने आधार नभेटिएको जनाएको छ । कुकी समुदायकी एक महिलालाई सशस्त्र समूहका सदस्यले गत ७ नोभेम्बरमा बलात्कारपछि आगो लगाइदिएपछि हिंसा भड्किन सुरु भएको थियो । हिंसात्मक प्रदर्शनका क्रममा हालसम्म २० जनाको मृत्यु भइसकेको छ ।

हिंसात्मक प्रदर्शनमा संलग्न २३ जनालाई प्रगरीले पक्राउ गरेको छ ।

मैतेई समूहको प्रभाव रहेका स्थानमा इन्टरनेट सेवा अवरुद्ध गरिएको छ ।

प्रदर्शनकारीहरुले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) समर्थितहरुलाई निशाना बनाएका छन् ।

प्रदर्शनकारीहरूले केही विधायकहरूका घर र कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

कन्द्रीय गृहमन्त्री अमित शाहले मणिपुरको अवस्थाबारे छलफल गर्न आइतबार सुरक्षा बैठक बोलाएका थिए ।

कुकी र मैतेई समुदायबीच करिब दुई साताअघि चर्केको हिंसामा कम्तीमा २० जनाको ज्यान गइसकेको छ ।

११ नोभेम्बरमा एउटा प्रहरी चौकी र मैतेई शरणार्थी शिविरमा आक्रमण भएको थियो । कुकी समूहले आक्रमण गरेको भन्दै उक्त घटनापछि प्रहरीले १० जनालाई गोली हानेर मारेको थियो ।  ती सबै कुकी लडाकु भएको दाबी प्रहरीको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us