चलचित्र छायांकनका लागि लुम्बिनी प्रदेश आउनुस्ः मन्त्री राणा

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते १४:५७ मा प्रकाशित

काठमाण्डू, २३ कात्तिक- लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले नेपाली चलचित्रहरूप्रति दर्शकहरूले देखाएको मायाप्रेमको सह्राना गरेका छन् ।

चलचित्र निर्माता, अभिनेता समेत रहेका मन्त्री राणाले दशैं, तिहारका बेला प्रदर्शन भएका चलचित्रहरूले दर्शकको मन जित्न सफल भएको बताए ।

उनले नयाँ चलचित्रहरूको कथावस्तु, निर्माण शैली, प्रस्तुति धेरै राम्रो रहेको बताए ।

प्रयास गर्दा राम्रो चलचित्र बनाउन सकिन्छ भन्ने तथ्य प्रमाणित भएको भन्दै मन्त्री राणाले बिगतमा आफूले निर्माण गरेका चलचित्रहरू दादागिरी, खलनायक लगायतका चलचित्रलाई दर्शकले तत्कालीन समयमा माया गरिदिएको स्मरण गरेका छन् ।

सिटीसेन्टरमा शुक्रबार बिहान नेपाली चलचित्र हेरेपछि प्रतिक्रिया दिंदै मन्त्री राणाले राम्रा चलचित्रले नेपाली चलचित्र उद्योगलाई सहयोग पुग्ने बताए । राणाले आगामी दिनमा अझै पनि रामा चलचित्र निर्माण हुने संकेत गरेको बताएका छन् ।

प्रदर्शनको तयारीमा रहेका र निर्माण भइरहेका चलचित्रहरू पनि राम्रो विषयवस्तुमा रहेको उनले बताए ।

नेपाली चलचित्र उद्योगलाई बलिउडले प्रभाव पारिरहेको अवस्थामा नेपाली चलचित्रहरूप्रति दर्शकले देखाएको सदभावलाई बचाउने दायित्व निर्माता, कलाकार, चलचित्र हल सञ्चालक सबैको रहेको मन्त्री राणाले बताए ।

मन्त्री राणाले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनका लागि पनि आग्रह गरेका छन् । लुम्बिनी प्रदेशमा चलचित्र छायांकनका लागि राम्रो स्थानहरू पनि रहेको राणाले बताए । त्यसका लागि आफूबाट हुन सक्ने सहयोग रहने मन्त्री राणाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us