
काठमाण्डु, २१ कात्तिक- २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन डोनाल्ड ट्रम्पले जितेका छन् ।
पूर्व राष्ट्रपतिसमेत रहेका उनले २७० इलेक्ट्रोल कलेज पार गर्दै निर्वाचन जितेका हुन् ।
अमेरिकामा राष्ट्रपतिको निर्वाचन जित्न २७० इलेक्ट्रोल कलेज चाहिन्छ ।
अमेरिकी समाचार संस्था सिएनएनका अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले २७६ इलेक्ट्रोल कलेज जितिसकेका छन् ।
यता डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले २१९ इलेक्ट्रोल कलेज जितेकी छन् । उनी अहिलेकी उपराष्ट्रपति समेत हुन् ।
पपुलर मतमा पनि यसपालि ट्रम्प नै अगाडि छन् । ट्रम्पले ७ करोड ८ लाख ७७ हजार ४८४ मत प्राप्त गरेका छन् । ह्यारिसले ६ करोड ५८ लाख १२ हजार ७५९ मत प्राप्त गरिन् ।
अमेरिकी राष्ट्रपति निश्चित भएका डोनाल्ड ट्रम्पले १३२ वर्षपछि नयाँ रेकर्ड बनाउने भएका छन् ।
सन् २०१६ मा हिलारी क्लिन्टनलाई हराएर पहिलो कार्यकालका लागि ४५ औं राष्ट्रपति बनेका थिए ।। तर सन् २०२०मा डेमोक्र्याटिक पार्टीका जो बाइडेनले उनलाई पराजित गरेका थिए ।
राष्ट्रपति निर्वाचनमा एकपटक पराजित भएपछि प्राय ती राजनीतिज्ञले अर्को पटक उम्मेदवार बन्ने प्रयास गर्दैनन् । त्यस्तो प्रयास गर्ने राजनीतिज्ञले पार्टी भित्रकै चुनाव जित्ने सम्भावना कम हुन्छ ।
तर रिपब्लिकन पार्टीमा डोनाल्ड ट्रम्पको जबरजस्त पकड थियो । उनी सजिलैसँग रिपब्लिकन पार्टीमा प्राइमरी निर्वाचन जितेर राष्ट्रपतिमा सो दलको उम्मेदवार बने ।
यो भन्दा अघि १३२ वर्ष पहिले सन् १८९२ मा ग्रोभर क्लिभल्यान्डले यस्तो रेकर्ड बनाएका थिए । उनी पहिलो पटक १८८५मा २२ औं राष्ट्रपतिमा निर्वाचित भएका क्लिभल्यान्ड १८८९ मा पराजित भएका थिए ।
त्यसपछि फेरि १८९३ मा २४ राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए ।