
काठमाण्डु, २१ कात्तिक– अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित हुने निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले १ सय ३२ वर्षपछि नयाँ रेकर्ड कायम गर्ने भएका छन् ।
एक कार्यकाल राष्ट्रपति भएर दोश्रोपटकमा हार व्यहोरेर तेश्रो प्रयासमा पुनः राष्ट्रपति बन्ने ट्रम्प १ सय ३२ वर्षपछि पहिलो हुन् ।
ट्रम्प यसअघि २०१६ मा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै पहिलो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका थिए ।
२०२०मा भने डेमोक्र्याटिक उम्मेदवार वर्तमान राष्ट्रपति जो बाइडेनसँग पराजित भए । राष्ट्रपति निर्वाचनमा एकपटक पराजित भएपछि समान्यतः अर्को प्रयास गरेको रेकर्ड अमेरिकी इतिहासमा कमै छ ।
१ सय ३२ वर्षअघि सन् १८९२ मा ग्रोभर क्लिभल्यान्डले पहिलो कार्यकाल राष्ट्रपति भएपछि दोश्रो कार्यकालमा हारेका थिए ।
तेश्रोपटक पुनः चुनाव लडेका उनले जितेका थिए । पहिलो पटक १८८५ मा २२औं राष्ट्रपतिमा निर्वाचित भएका क्लिभल्यान्ड १८८९ मा पराजित भए । १८९३ मा फेरि उम्मेदवार भएका उनी २४औं राष्ट्रपतिमा निर्वाचित भएका थिए ।