
काठमाण्डु, १९ कात्तिक– नेपालको पश्चिमी सिमानासँग जोडिएको भारत उत्तराखण्डमा सोमबार भएको बस दुर्घटनामा कम्तिमा ३६ जनाको मृत्यु भएको छ ।
नैनीडाँडाबाट रामनगर जाँदै गरेको बस सोमबार बिहान मार्चुला क्षेत्रस्थित अल्मोडामा सोमबार बिहान ८ः३० बजे दुर्घटना भएको थियो ।
मार्चुला पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्य हो । दुर्घटनामा अधिकांश आन्तरिक पर्यटकहरु परेका छन् ।
दुर्घटनामा १५ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन । स्थानीय प्रहरीका अनुसार उनीहरुको उपचार जारी छ ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई हवाई उद्धार गरी ऋषिकेश एम्स अस्पताल लगिएको छ ।
दुर्घटनापछि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुःख व्यक्त गरेका छन् ।
उनले दुर्घटनामा ज्यान गुमाएका मृतक परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
यसैबीच उत्तराखण्ड सरकारले मृतक परिवारलाई चार लाख भारतीय र घाइतेका परिवारलाई
एक लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।