मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारको बाटो भएर घर फर्कंदै थिएँ ।
बालुवाटारमा केही महिलाहरुलाई प्रहरीले पक्राउ गरिरहेका थिए । त्यस्तै ५/६ जनाको संख्यामा रहेका महिलामाथि धेरै प्रहरीले ज्यादती गरिरहेको देखें । दृष्य यस्तो थियो कि अलिकती करुण भएको मानिस त्यो देखेर भक्कानिन्थ्यो । महिलाहरुलाई पुरुष प्रहरीले लछारपछार गरेका थिए ।
उनीहरुको मुख थुनिएको थियो र घाँटी अँठ्याइएको थियो । ती निहत्था महिलाहरु चिच्याइरहेका थिए । वास्तवमा त्यो लोकतन्त्र र मानव अधिकारलाई गिज्याउने घटना थियो ।
महिलाहरुलाई प्रहरीले सडकमै लछारपछार गरेका कारण दर्जनौं गाडीहरु रोकिएर जाम भएको थियो । मलाई असह्य भयो । गाडी छोउमा रोकेर अलिक अगाडि महिलाहरुलाई लछारपछार गर्दै प्रहरी भ्यानमा राख्न लागिएको ठाउँमा गएँ । मैले प्रहरीहरुलाई महिलामाथि त्यस्तो अमानवीय व्यवहार नगर्न आग्रह गरें । आफ्नो परिचय पनि दिएँ । तर, ती प्रहरी मैमाथि जाइलागे ।
जबर्जस्ती भ्यानमा कोचे । महिलाहरुसँगै मलाई मालीगाउँको प्रहरी चौकीमा लगे । केहीबेर त्यहाँ राखेपछि स्वास्थ्य परीक्षणका लागि भन्दै वीर अस्पताल लगे । त्यतिबेला मात्र मलाई थाहा भयो कि उनहरु एउटा महिला हत्याका आरोपीमाथि कारबाहीका लागि दबाब दिन रुबी खानको नेतृवमा प्रदर्शनका लागि त्यहाँ पुगेका रहेछन् ।
स्वास्थ्य परीक्षणपछि मलाई प्रहरीले छाड्न खोजे । मैले ती महिलाहरुलाई नछाडेसम्म आफू पनि नजाने बताएँ । अड्डी नै कसेपछि उनीहरु महिलाहरुलाई छाड्न तयार भए । मलाई प्रहरीको भर लागेन । ती महिलाहरु कलंकी बस्ने रहेछन् । आफैंले कलंकीसम्म छाडेर म राति १० बजेतिर घर आएँ ।
(काँग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीसँगको कुराकानीमा आधारित)