
एजेन्सी– श्रीलङ्कामा शनिबार भएको राष्ट्रपतीय निर्वाचनमा वामपन्थी दल जनमुक्ति मोर्चा (जेभेपी) उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् ।
निर्वाचनमा उनले ५३ प्रतिशत मत ल्याएका छन् । १ करोड ७० लाख मतदातामध्ये ७५ प्रतिशतले मतदान गरेका थिए । यसअघि सन् २०१९ मा भएको राष्ट्रपतीय निर्वाचनमा दिसानायेकेले जम्मा तीन प्रतशित मतमा चित्त बुझाउनुपरेको थियो । त्यतिबेला उनी तेश्रो भएका थिए ।
निर्वाचनमा पराजित भएपछि पनि उनी राजापाक्षे परिवारका कारण संकटमा धकेलिएको मुलुकको राजनीतिक र आर्थिक अवस्थाबारे बोल्न छाडेनन् । उनले अभियानकै रुपमा निर्वाचन तयारी गरेका थिए ।
दिसानायेकेका निकटतम प्रतिद्वन्द्वी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङे र अर्का उम्मेदवार साजिथ प्रेमदशाले समान १९ प्रतिशत मत ल्याएको टाइम्स अफ इण्डियाले जनाएको छ । समाचारमा जनाइएअनुसार नवनिर्वाचित राष्ट्रपति अनुराले आजै सपथ लिनेछन् ।